रातो पासपोर्ट दुरुपयोग मुद्दा: पूर्व सभासद्लाई सजाय गर्ने जिल्लाको फैसला उच्च अदालतबाट सदर


काठमाडौं । उच्च अदालत पाटनले रातो (कूटनीतिक) राहदानी दुरुपयोग र कीर्ते कागज सम्बन्धी मुद्दामा तीन पूर्व संविधानसभा सदस्यविरुद्ध काठमाडौं जिल्ला अदालतले सुनाएको फैसला सदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गत असार २३ गते पूर्व संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीतको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला कायम राखेको हो। फैसलाको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ।

काठमाडौं जिल्ला अदालतले २०७१ जेठ २१ गते उनीहरूलाई जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। यसै मुद्दामा बिचौलियाको आरोप लागेका डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ।

जिल्ला अदालतले उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो, जुन फैसला पनि उच्च अदालतले सदर गरेको छ। त्यस्तै, नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेको अभियोगमा म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालतले सुनाएको एक वर्ष कैद र ५०० रुपैयाँ जरिवानाको फैसला पनि यथावत् रहेको छ।

अनुसन्धानका क्रममा पूर्व संविधानसभा सदस्यहरूले आफ्नो पदका आधारमा प्राप्त कूटनीतिक राहदानी आर्थिक लाभका लागि बिचौलियामार्फत दुरुपयोग गरेको आरोप प्रहरीले लगाएको थियो। उनीहरू २०६४ सालमा निर्वाचित संविधानसभा सदस्य हुन्।