पैसा नभए श्रमदानबाटै ट्राफिक जरिवाना तिराइने


काठमाडौ । सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई जरिबाना नगदका साथै श्रमदानमार्फत पनि तिर्न सकिने व्यवस्था कानुनमा समावेश गर्ने तयारी गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पूर्वाधारमन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघनसम्बन्धी जरिबाना र कारबाहीको व्यवस्था समेटिएको नयाँ कानुनको मस्यौदा तयार गरिएको जानकारी दिए।

उनका अनुसार हाल कायम रहेको ट्राफिक जरिबानाको रकम पर्याप्त प्रभावकारी नभएकाले नयाँ व्यवस्थामा केही कसुरका लागि जरिबाना बढाउने प्रस्ताव गरिएको छ। सामाजिक सञ्जालमा एकैपटक ५० हजार रुपैयाँ जरिबाना लगाइने भन्ने चर्चा भए पनि उक्त रकम बारम्बार स्पिड लिमिट उल्लंघन गर्ने चालकका हकमा मात्र लागू हुने उनले स्पष्ट पारे।

मन्त्री लम्सालले स्पिड लिमिट तीन पटकसम्म उल्लंघन गर्ने चालकलाई ५० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने र गम्भीर वा दोहोरिने उल्लंघनमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत रद्द गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको बताए।

उनले जरिबाना तिर्न नसक्ने व्यक्तिका लागि नगदको सट्टा सरकारी श्रमदानमार्फत जरिबाना परिपूर्ति गर्न सकिने व्यवस्था पनि विधेयकमा समावेश गरिएको जानकारी दिए। यस सम्बन्धी कानुनी व्यवस्था संसद्बाट पारित भएपछि मात्रै लागू हुने उनले बताए।