काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष एवं चर्चित पत्रकार ऋषि धमलाले केही सञ्चार-गृहअगाडि नियोजित रूपमा बेवारिसे गाडी पार्किङ गरेर मिडियालाई तर्साउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् । काठमाडौँमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै धमलाले लोकतन्त्र र प्रेस-स्वतन्त्रतामाथि हुने यस्ता कुरुप हर्कतविरुद्ध आफ्नो अभियानले कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
पञ्चायतकालदेखि नै लोकतन्त्रका लागि लडेको स्मरण गर्दै धमलाले भने, ‘म १४ वर्षको उमेरदेखि तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्रको पक्षमा सडक र कलम दुवैमार्फत लड्दै आएको व्यक्ति हुँ । सञ्चार जगतले आफ्नो विरुद्ध समाचार नलेखोस् भनेर शासकहरूले मिडियालाई कमजोर बनाउन खोज्छन् । तर हेक्का रहोस्, नेपाली सञ्चारजगत् यस्ता काइते हर्कतबाट कहिल्यै कमजोर हुने छैन ।’
कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइन खबर र नेपाली कांग्रेसका सभापति गगन थापाको मूल गेटअगाडि नियोजित रूपमा गाडी तेर्स्याएर बेवारिसे छोडिनु सामान्य घटना नभएको धमलाको जिकिर छ । उनले आक्रोशित हुँदै प्रश्न गरे, ‘त्यहाँ किन गाडी राखियो ? यसको पछाडि कसको हात छ ? गृहमन्त्री र प्रधानमन्त्रीले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ । सामान्य जरिवाना र ट्राफिक चिट काटेर मात्रै दोषीलाई उन्मुक्ति दिन मिल्दैन ।’ उनले यस घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल न्यायिक छानबिन आयोग गठन गर्न माग गरे ।
मिडिया र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार कुनै पनि हालतमा सह्य नहुने उल्लेख गर्दै धमलाले यस विषयमा वक्तव्य जारी गरी ऐक्यबद्धता जनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशंसासमेत गरे ।
आर्थिक शिथिलताप्रति पनि चिन्ता व्यक्त गर्दै धमलाले देशका प्रमुख शक्तिहरू मिल्नुको विकल्प नरहेको औँल्याए । ‘अब रास्वपासहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू देशका लागि एक ठाउँमा बस्नुपर्छ,’ धमलाले भने, ‘दलहरूबीच सहकार्य र संवादको खाँचो छ ।’
देशको अर्थतन्त्र डाँवाडोल स्थितिमा पुग्दा पनि सरकारले सोचेजस्तो पहल गर्न नसकेको उनको आरोप छ । ‘अहिले शेयर बजारको अवस्था नाजुक छ, युवाहरू पलायन भइरहेका छन्, रेमिटेन्सको भरमा देश धानिएको छ,’ अर्थतन्त्र सुधार्न सरकार गम्भीर हुनुपर्नेमा धमलाले जोड दिए ।
धमलाले जेनजी आन्दोलनका क्रममा नेपाली सञ्चार-जगत् र सामाजिक सञ्जालले युवाहरूको पक्षमा खेलेको ऐतिहासिक भूमिकाको स्मरण गराए । ‘मिडियाकै निष्पक्ष भूमिका र जनआवाजका कारण पुराना दलका शक्तिशाली नेताहरूले सत्ता छाड्नुपरेको इतिहास धेरै पुरानो भएको छैन,’ धमलाले सचेत गराउँदै भने, ‘यो कुरा बालेन शाहको सरकारले पनि भुल्नु हुँदैन । नयाँ सरकारले सञ्चारक्षेत्रलाई तर्साउने होइन, झन् बलियो बनाउन भूमिका खेल्नुपर्छ ।’
यसै सन्दर्भमा निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको नीतिविरुद्ध आफूले शुरुदेखि नै आवाज उठाएको र अन्ततः अदालतले उक्त विभेदकारी निर्णय खारेज गरिदिएकोमा धमलाले अदालतको कदमको प्रशंसा गरे ।
यसैबीच, आफू नेतृत्वको स्वतन्त्र नागरिक अभियान अब मौन बस्ने अवस्था नरहेको स्पष्ट पार्दै चर्चित पत्रकार धमलाले देशमा छाया सरकार बनाउने तयारी भइरहेको खुलासा गरे । यसका लागि हरेक क्षेत्र र नागरिक समाजका विभिन्न पक्षसँग बृहत् छलफल भइरहेको उनले जानकारी दिए ।
‘स्वतन्त्र नागरिक अभियान एउटा ठूलो राष्ट्रिय संकल्प र एजेन्डा लिएर आएको छ,’ धमलाले थपे, ‘हाम्रो उद्देश्य सरकारका गल्ती र कमजोरीमाथि निरन्तर खबरदारी गर्ने, जनताको पक्षमा काम गर्न दबाब र रचनात्मक सुझाव दिने हो । सरकारले जनप्रिय काम गरोस्, मिडियालाई तर्साउने र धम्क्याउने काम कसैबाट पनि नहोस् ।’
धमलाले बेवारिसे गाडी पार्किङको घटनामा सरकारलाई आफूले अहिलेसम्म दोष नदिएको स्पष्ट पार्दै तत्काल न्यायिक छानबिन आयोग बनाएर सत्य-तथ्य सार्वजनिक गरी दोषीमाथि कडाभन्दा कडा सजाय गर्दा नै रास्वपा र बालेन सरकारको पनि भलाइ हुने स्पष्ट पारे ।



प्रतिक्रिया