काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।
बैठकलाई सम्बोधन गर्दै ठाकुरले भने, “प्रधानमन्त्री नेपाली हिटलर भइसकेका छन्। उनले जे बोल्छन्, त्यही ठीक। जे गर्छन्, त्यही कानुन हो भन्ने अहङ्कार देखिएको छ।” वर्तमान सरकारले जनता र संसद्मा दिएका आश्वासनहरूमध्ये अहिलेसम्म एउटा पनि पूरा नगरेको आरोपसमेत उनले लगाए।
सरकारको पछिल्लो कदमले लोकतान्त्रिक संस्थाहरूमाथि प्रहार भइरहेको तर्क गर्दै ठाकुरले ट्रेड युनियन खारेजीको कडा विरोध गरे। “ट्रेड युनियनलाई खारेज गरियो, तर त्यसको ठाउँमा अर्को कुनै व्यवस्था गरिएको छैन। संगठित संस्थाहरूलाई यो सरकार हेर्नै चाहँदैन। संगठनहरूमाथि आक्रमण गरेर, तिनलाई खत्तम पारेर प्रधानमन्त्रीले के गर्न खोजेका हुन्? के आफ्नो मात्रै नयाँ संगठन बनाउन खोजिएको हो?” उनले प्रश्न गरे।
सांसद ठाकुरले सरकारको स्वेच्छाचारी नीतिका कारण देशमा व्यावसायिक वातावरण बिग्रिएको र राजनीतिक दलका नेताहरूले समेत असुरक्षित महसुस गरिरहेको दाबी गरे।
निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारी नीतिको आलोचना गर्दै उनले थपे, “यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ। सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य क्षेत्र चल्न सक्दैन। नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ।”



प्रतिक्रिया