ढाका । बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५१३ जनाको मृत्यु भएको छ भने एक हजार ३३६ जना घाइते भएका छन् ।
मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर कुल ५९० वटा दुर्घटना भएका थिए । यात्रु कल्याण संस्था ‘बङ्गलादेश यात्री कल्याण समिति’का अनुसार जुन महिनामा भएका ५३२ वटा सडक दुर्घटनामा ४६३ जनाको मृत्यु र एक हजार ३२३ जना घाइते भएका छन् ।
त्यस्तै, ५३ वटा रेल दुर्घटनामा ४५ जनाको मृत्यु र आठ जना घाइते भएका छन् भने पाँच वटा जलमार्ग दुर्घटनामा पाँच जनाको मृत्यु र पाँच जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सडक दुर्घटनाका प्रमुख नौ कारण पहिचान गरेको छ । जसमा मनसुनका कारण सडकमा खाल्डाखुल्डी बढ्नु, सडक पूर्वाधारको कमजोरी, डिभाइडर तथा सङ्केत चिह्नको अभाव, मर्मतसम्भार नभएका वा असुरक्षित सवारीसाधनको प्रयोग, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा राजमार्गमा ब्याट्रीबाट चल्ने रिक्साजस्ता अनधिकृत सवारीसाधनको प्रयोग रहेका छन् ।
संस्थाले सडक सुरक्षाका लागि पूर्वाधार सुधार, सवारीसाधनको नियमित अनुगमन तथा यातायात नियमको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको जनाएको छ । रासस



प्रतिक्रिया