पुनः वार्ता सुरु गर्न अमेरिका–इरानलाई दबाब दिइरहेछ पाकिस्तान


इस्लामावाद । पाकिस्तानले अमेरिका र इरानबीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ ।

 पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले इस्लामाबादमा पत्रकारहरूसँग कुरा गर्दै गत महिना हस्ताक्षर भएको समझदारी पत्र (एमओयू) कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः सुरु गराउन प्रयास जारी राख्ने बताएका हुन् ।

‘समझदारी पत्रको कार्यान्वयनमा कठिनाइहरू देखिए पनि पाकिस्तान सबै पक्षलाई हिंसा अन्त्य गर्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिरहनेछ,’ उनले भने ।  

फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएयता पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । गत अप्रिलमा पाकिस्तानले आयोजना गरेको वार्तामा चार दशकपछि पहिलो पटक अमेरिकी र इरानी अधिकारीहरू एउटै कोठामा बसेर प्रत्यक्ष छलफल गरेका थिए ।

त्यसपछि जुन महिनामा पाकिस्तानको पहलमा इरानका राष्ट्रपति मसुद पेजेशकियन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको सहभागितामा अन्तरिम समझदारी भएको थियो । उक्त अन्तरिम सम्झौताबारे पछि स्विट्जरल्यान्डको बुर्गेनस्टक शिखर सम्मेलनमा समेत छलफल गरिएको थियो ।

तर पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच पुनः सैन्य आक्रमण तीव्र बनेपछि उक्त समझदारीको कार्यान्वयन अनिश्चित बनेको छ । कूटनीतिक माध्यमबाट दुवै पक्षलाई पुनः संवादमा फर्काउने प्रयासलाई निरन्तरता दिने पाकिस्तानले बताइरहेको छ । एजेन्सी