काठमाडौं । थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट पाँच वर्ष कैद सजाय तोकिएर जेल चलान भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।
कोइरीका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार उनलाई कारागारमुक्त गर्न आदेश दिएको हो । सर्वोच्चले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नदेखिएको उल्लेख गर्दै कोइरीलाई थुनामा राख्नु गैरकानुनी भएको ठहर गरेको छ ।
उच्च अदालत जनकपुरले गत असार १७ गते कोइरीलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । फैसलालगत्तै पक्राउ परेका कोइरीलाई सजाय भुक्तानका लागि असार १८ गते जलेश्वर कारागार पठाइएको थियो ।
कानुनतः ५ वर्षभन्दा कम सजाय तोकिएको अवस्थामा थुनाबाहिरै रहेर मुद्दाको पुनरावेदन (अपील) गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाको बर्खिलाप गरी कोइरीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कोइरीलाई रिहा गर्न आदेश दिएको हो ।






प्रतिक्रिया