काठमाडौं, साउन ३ । नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।
पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।
त्यस्तै, संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् । पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ।




प्रतिक्रिया