काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको जग र मुलुकको राजनीतिक दिशामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार एमाले सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश अहिले नीति र पद्धतिविहीन अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे ।
लोकतन्त्रमा सरकार परिवर्तनका स्पष्ट संवैधानिक र संसदीय बाटाहरू हुने चर्चा गर्दै ओलीले वर्तमान सत्ता गठबन्धनको सुरुवात नै त्रुटिपूर्ण रहेको दाबी गरे । “अहिले परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ,” ओलीले भने, “लोकतन्त्रमा सरकार बदल्ने कानुनी बाटाहरू हुन्छन्, जहाँ हिंसा, आगजनी र षड्यन्त्र मान्य हुँदैनन् । तर, अहिलेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने र षड्यन्त्र गर्ने पृष्ठभूमिबाट भएको हो ।”
सम्बोधनका क्रममा अध्यक्ष ओलीले पछिल्लो समय राजनीति र समाजमा व्याप्त ‘पपुलिज्म’को चर्को आलोचना गरे । लोकप्रियता कमाउने नाममा भइरहेका भद्दा अभ्यासहरूले समाज र राजनीति दुवैलाई विकृत बनाएको उनको ठहर थियो ।
यससँगै ओलीले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगप्रति पनि कडा आक्रोश पोखे । सञ्जालले समाजमा स्वस्थ बहस गराउनुको साटो भ्रम र अराजकता फैलाएको उनको आरोप थियो । ओलीले भने, “सामाजिक सञ्जालले असामाजिक ढंगले काम गरिरहेको छ । कोही उत्तरदायी हुनु नपर्ने, कतै दर्ता हुन नपर्ने र कसैप्रति जवाफदेही हुनु नपर्ने संयन्त्र जस्तो बनाएर यहाँ निराधार र असत्य कुराहरूको प्रचार भइरहेको छ । यसले समाजमा भयानक विकृति ल्याएको छ ।”
मुलुकको आर्थिक र सामाजिक अवस्थाबारे बोल्दै ओलीले युवा पलायनको मुद्दामा सरकारको दोहोरो मापदण्डमाथि समेत कटाक्ष गरे । विगतको तुलनामा अहिले वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढे पनि चौतर्फी मौनता छाएको उनको भनाइ थियो ।
“पोहोर साल यतिबेला युवाहरू विदेशिए भनेर खपिनसक्नु हल्ला खडा गरिएको थियो,” ओलीले वर्तमान सरकारको आलोचना गर्दै थपे, “अहिले पोहोरको भन्दा बढी संख्यामा युवाहरू बाहिर गइरहेका छन्, तर सबैतिर चुपचाप छ, अचम्म त के छ भने अहिले युवाहरू बाहिर जानु उनीहरूको अधिकार हो भन्दै यसको नयाँ व्याख्या गरेर पन्छिने काम भइरहेको छ ।”




प्रतिक्रिया