कांग्रेस नेतृत्वको बागमती सरकारलाई एमालेको धक्का


हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीहरूले सोमबार पदबाट सामूहिक राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउन लागेका हुन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरूको सामूहिक राजीनामाबारे औपचारिक निर्णय गर्न एमाले बागमती प्रदेश संसदीय दलको बैठक सोमबार काठमाडौंमा बसिरहेको छ।

यसअघि नै शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट समर्थन फिर्ता लिने निर्णयबारे औपचारिक जानकारी गराइएको थियो। सोही दिन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइए पनि उनीहरूले सोमबार मात्रै राजीनामा बुझाउन लागेका हुन्।

बागमती सरकारमा एमालेका तर्फबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, मन्त्रीहरू जयराम थापा, भरतबहादुर केसी र किरण थापा रहेका छन्। एमालेको यो कदमसँगै बागमती प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने भएको छ।