उद्योगमन्त्री यादवको कडा एक्सन: सिर्सिया नदी प्रदूषण गर्ने उद्योगमाथि कारबाही, १०–१० लाख जरिवाना


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि सिर्सिया नदी प्रदूषण नियन्त्रणमा कडाइ गरिएको छ। वातावरणीय मापदण्ड उल्लङ्घन गरी नदीमा प्रदूषित फोहोर पानी मिसाउने उद्योगहरूमाथि सरकारले कडा कारबाही सुरु गरेको हो।

 उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिँदै पूर्वसूचना जारी गरेको थियो। तर उक्त निर्देशनको पालना नगरेपछि वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ।

वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानी (Effluent Water) को नमुना संकलन गरेको थियो। प्रयोगशालामा गरिएको परीक्षणबाट १२ उद्योगले नेपाल सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रति उद्योग १० लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेश प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने ६ उद्योगका सम्बन्धमा वातावरण संरक्षण ऐन, २०७६ बमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

मन्त्रालयले सिर्सिया नदी आसपासका अन्य उद्योगहरूको निरीक्षण अझै जारी रहने जनाएको छ। वातावरण विभाग, उद्योग विभाग, प्रदेश सरकारअन्तर्गतका सम्बन्धित निकाय तथा स्थानीय तहको संयुक्त प्राविधिक टोलीमार्फत थप अनुगमन गरी आवश्यक कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ बमोजिम तेब्बर जरिवाना गरिनेछ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि रसायनयुक्त फोहोर पानी मिसिँदै आएपछि सिर्सिया नदी अत्यधिक प्रदूषित बन्दै गएको छ। नदी प्रदूषित हुँदा आसपासका बासिन्दाले दुर्गन्ध, विभिन्न स्वास्थ्य समस्या, खेतीपातीमा क्षति तथा पशुचौपायामा समेत प्रतिकूल असर भोग्दै आएका छन्। स्थानीयले लामो समयदेखि प्रशोधन नगरी औद्योगिक फोहोर नदीमा नहाल्न अनुरोध गर्दै आएका थिए।

यसैबीच उद्योगमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीको घटनालाई उदाहरणका रूपमा लिँदै देशभरका औद्योगिक क्षेत्रको वातावरणीय अनुगमनलाई थप तीव्र बनाउन निर्देशन दिएकी छन्। 

कारबाहीमा परेका उद्योगहरू:

श्री जगदम्बा स्टिल इन्डस्ट्रिज लि., बारा

श्री हुलास स्टिल इन्डस्ट्रिज प्रा.लि., बारा

श्री शिवशक्ति घिउ उद्योग प्रा.लि., बारा

श्री सुशील वनस्पति प्रा.लि., पर्सा

श्री अन्नपूर्ण भेगिटेबल प्रोडक्ट्स, बारा

श्री अशोक स्टिल इन्डस्ट्रिज प्रा.लि., बारा