प्रधानमन्त्री बालेनले कोर टिमलाई भने– ‘अर्थमन्त्रीसँग काम गर्ने वातावरण नै बनेन´



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिचको सम्बन्ध थप चिसिएको छ। बजेट भाषणपछि असन्तुष्ट बनेका प्रधानमन्त्री बालेनले आफ्नो कोर टिमसँग अर्थमन्त्री वाग्लेसँग काम गर्ने वातावरण नरहेको जानकारी गराएको स्रोतले जनाएको छ।


निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन नगर्ने निर्णय मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका प्रधानमन्त्री बालेनले सोही दिन साँझ आफ्नो कोर टिमसँग छलफल गर्दै यस्तो धारणा राखेको विश्वस्त स्रोतको भनाइ छ।


“प्रधानमन्त्रीले मंगलबार साँझ आफ्नो कोर टिमसँग छलफल गर्नुभएको थियो। त्यसक्रममा उहाँले अर्थमन्त्रीसँग काम गर्ने वातावरण नभएको जानकारी गराउनुभएको छ,” स्रोतले भन्यो।

रास्वपाले चुनावी प्रतिबद्धतामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा निःशुल्क र पहुँचयोग्य बनाउने उल्लेख गरेको थियो। प्रधानमन्त्री बालेनले पनि चुनावी अभियानका क्रममा शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


तर, अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमा शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर थपिएपछि प्रधानमन्त्री बालेन रुष्ट बनेको स्रोतको दाबी छ।
त्यस्तै, आन्तरिक विद्युत् खपत बढाउने र विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको प्राथमिकताविपरीत बजेटमा विद्युत् क्षेत्रमा कर वृद्धि गरिएपछि सर्वसाधारण तथा निजी क्षेत्र निराश बनेको प्रधानमन्त्रीको बुझाइ रहेको बताइएको छ।


स्रोतका अनुसार अर्थमन्त्री वाग्लेकै कारण सेयर बजार प्रभावित भएको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणलाई प्राथमिकता दिइएको र अर्थतन्त्र चलायमान बनाउने खालको बजेट आउन नसकेको भन्दै प्रधानमन्त्री बालेन असन्तुष्ट छन्।


बजेटमा जनतालाई राहत पुग्ने ठोस कार्यक्रम नदेखिएको भन्दै असन्तुष्ट बनेका प्रधानमन्त्री बालेनले पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर, निर्माण व्यवसायी, सेयर बजारका ब्रोकर तथा निजी क्षेत्रका उद्यमीहरूसँग भेटघाट गरेका छन्।

मंगलबार पनि उनले तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गरेका थिए। तर, अर्थतन्त्रसँग सम्बन्धित यी कुनै पनि छलफलमा प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेलाई सहभागी गराएका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर प्रधानमन्त्रीले एक्लै छलफल गरिरहेका छन् ।


वाग्लेसँग असन्तुष्ट बनेका प्रधानमन्त्री बालेनले पार्टी सभापति रवि लामिछानेलाई उनकै निवासमा पुगेर अर्थमन्त्री पदबाट हटाउनुपर्ने प्रस्ताव राखेको राजनीतिक वृत्तमा चर्चा छ। तर, प्रधानमन्त्रीको उक्त प्रस्तावमा सभापति लामिछाने सहमत नभएको बताइएको छ। उनले तत्कालै अर्थमन्त्री वाग्लेलाई हटाउन नहुने र मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।


यसैबीच, प्रधानमन्त्री बालेनले वाग्लेलाई हटाएर रास्वपाकी सांसद विदुषी राणालाई अर्थमन्त्री बनाउने तयारी गरिरहेको समाचारसमेत सार्वजनिक भएको छ।