काठमाडौं, साउन ५ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको गाडीमा ब्रेक लागेको भन्दै टिप्पणी गरेका छन् । शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता गर्ने प्रधानमन्त्री वालेन्द्रको घोषणाप्रति महासचिव पोखरेलले टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हो, यस्तै गरी जनताका विरोधका स्वर सुनेर सच्चिनुपर्छ । भड्किएपछि पछि फर्किनुपर्छ ।’
प्रधानमन्त्री बालेन शाहले आज अपराह्न सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै निजी शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको ३ प्रतिशत समता शुल्क लागु नगर्ने घोषणा गरेका थिए । ‘माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ उनले भनेका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्दै साउनदेखि निजी शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता कर लगाइने घोषणा गरेपछि केही आलोचना भएको थियो ।




प्रतिक्रिया