काठमाडौं, साउन ५ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै आङदेम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिनुपर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरेर जनभावनाको सम्मान गरेको छ। सरकारको यो कदम स्वागतयोग्य छ। अब सरकारले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तोकिएकोमा त्यो पनि फिर्ता लिनुपर्छ।’
आङदेम्बेले विद्युत् अहिलेको समयमा विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति परस्पर विरोधाभासी देखिएको बताए।
‘विद्युत् आजको समयमा विलासिताको वस्तु होइन, आधारभूत आवश्यकता हो। खाना पकाउनेदेखि अध्ययन, सूचना–प्रविधि, साना उद्योग र विद्युतीय सवारीसाधनसम्म सबै क्षेत्र विद्युत्मै निर्भर छन्। एकातिर सरकारले एलपी ग्यास र पेट्रोलियम पदार्थको विकल्पका रूपमा विद्युत्को प्रयोग बढाउन आग्रह गर्ने, अर्कोतर्फ विद्युत् उपभोगमै कर थप्ने नीति भने परस्पर विरोधाभासी देखिन्छ,’ उनले उल्लेख गरेका छन्।
उनले सरकारले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने भन्दै विद्युत् उपभोगमा थपिएको कर तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका छन्। ‘त्यसैले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताबाट ५ प्रतिशत कर असुल्ने कदम सरकारले फिर्ता लिनुपर्छ,’ उनले भनेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने घोषणा गरेपछि कांग्रेस नेता आङदेम्बेले विद्युत्मा लगाइएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।




प्रतिक्रिया