मधेशमा उपेन्द्र, ६ प्रदेशमा वाम गठबन्धनः नेपाली राजनीतिमा फेरि अर्को उलटपुलट


काठमाडौँ । नेपाली राजनीतिमा वाम एकता बन्ने र भत्किने खेल कुनै नयाँ परिघटना होइन। तर, पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा तयार पारिएको पछिल्लो वामपन्थी परिदृश्यले सत्ता र शक्तिको पुरानै गणितलाई पुनः नयाँ ढङ्गले उलटपुलट गराइदिने सङ्केत गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच पुनः झाँगिएको निकटताले देशको राजनीतिलाई नयाँ मोडमा पुर्‍याएको छ। यो दुई नेताको मिलाप मात्र होइन, नेपाली कांग्रेसलाई सातै प्रदेशको राजनीतिक समीकरणबाट पूर्णरूपमा पाखा लगाउने रणनीतिक दाउपेच पनि हो।
नयाँ सहमतिको खाकाअनुसार वाम गठबन्धनले सातै प्रदेशमा आफ्नो पकड मजबुत बनाउने योजना बनाएको छ। मधेश प्रदेशको जटिल भू-राजनीति र क्षेत्रीय गणितलाई ध्यानमा राख्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई मधेशको नेतृत्व सुम्पिने र बाँकी छ वटै प्रदेशमा एमाले–नेकपा गठबन्धनको सरकार बनाउने भित्री सहमति बनेको स्रोतले जनाएको छ।

यस कदमले एकातिर उपेन्द्र यादवलाई वाम कित्तामा सुरक्षित राख्नेछ भने अर्कोतिर कांग्रेसलाई सातै प्रदेशमा एकैपटक प्रतिपक्षको कुर्सीमा धकेलिदिनेछ।

कम्युनिस्ट एकताको भावनात्मक नारा दिएर कार्यकर्ता पङ्क्तिलाई तरंगित बनाउने र एमाले तथा नेकपा र समाजवादी घटकबीचको एकता प्रक्रियालाई तल्लो तहसम्मै वैधता दिने प्रयास गरिएको छ।
यसैबीच, नेकपा संयोजक दाहाललाई एमालेसँगको पार्टी एकीकरणपछि प्रतिनिधिसभामा संसदीय दलको नेता बनाएर नयाँ गठबन्धन वा पार्टीलाई दोस्रो ठूलो शक्तिमा स्थापित गर्ने तयारी गरिएको स्रोतको दाबी छ । यसो हुँदा नेपाली कांग्रेसलाई प्रतिनिधिसभामा पनि तेस्रो हैसियतमा पुर्‍याउन सकिने वाम घटकहरुको बुझाइ छ ।

प्रतिनिधिसभामा समेत गणितीय हेरफेर गरेर कांग्रेसलाई तेस्रो दलमा खुम्च्याउने ओली–दाहालको साझा रणनीति रहेको देखिन्छ। नयाँ वाम ध्रुवीकरणपछि एक्कासि सातै प्रदेशमा प्रतिपक्षमा सीमित हुने भएकाले सबैभन्दा ठूलो धक्का नेपाली कांग्रेसलाई लाग्ने उनीहरुको ठम्याइ छ ।

ओली र दाहालको यो पुनर्मिलन सिद्धान्त र विचारको जगमा भन्दा पनि फागुन २१ को चुनावमा रास्वपासँग भोगेको नमीठो पराजयले गुमेको शक्ति सन्तुलन र कांग्रेसलाई घेराबन्दी गर्ने तात्कालिक स्वार्थमा आधारित छ। विगतका तिक्तता र असफलतालाई बिर्सेर फेरि एक ठाउँमा उभिन लागेका यी दुई वाम नेताको नयाँ प्रयोगले देशलाई राजनीतिक स्थिरता दिन्छ या सत्ताको अर्को अस्थिर चक्रमा फसाउँछ ? त्यो भने भविष्यले बताउनेछ ।