काठमाडौँ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक सन्तुलन खलबलिन थालेको छ। रवि लामिछाने र बालेन शाह वरपर केन्द्रित गुटबन्दीबीच अब उपसभापति स्वर्णिम वाग्लेले पनि आफ्नै बेग्लै गुट खडा गर्ने रणनीति अख्तियार गरेपछि पार्टीभित्र शक्ति संघर्षले नयाँ मोड लिएको छ।
पुराना राजनीतिक दलहरूको गुटगत महारोगबाट मुक्त रहने दाबीसहित गठन भएको रास्वपाभित्र अहिले आन्तरिक किचलो छताछुल्ल हुन थालेको छ। अहिलेसम्म सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह समर्थित दुई वटा स्पष्ट ध्रुव कायम थिए। तर, उपसभापति डा. स्वर्णिम वाग्लेले अब आफ्नै बेग्लै गुट बनाएर शक्ति अभ्यास शुरु गर्न लागेको रास्वपा स्रोतले जनाएको छ।
वाग्लेको यो कदम व्यक्तिगत असन्तुष्टि मात्र नभई पार्टीभित्र आफ्नो उपस्थिति र निर्णय प्रक्रियामा हस्तक्षेपकारी भूमिका बढाउने रणनीति मानिएको छ। स्रोतका अनुसार वाग्लेको गुटमा प्रतिनिधिसभाका ३० देखि ३५ जना सांसदहरू खुल्ने क्रममा छन्, जसमा बहालवाला परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने दाबी गरिएको छ ।
रास्वपा स्रोतका अनुसार पार्टी सञ्चालनको परम्परागत र तदर्थवादी शैलीप्रति असन्तुष्ट सांसदहरूलाई समेटेर स्वर्णिम वाग्लेले नीतिगत तथा वैचारिक पङ्क्ति निर्माण गर्न खोजेका हुन्।
वैकल्पिक राजनीतिको नारा दिएर रास्वपा स्थापित भएको थियो तर छोटो समयमै पुराना दलहरूकै शैलीमा गुट–उपगुटमा विभाजन हुनुले पार्टीका सच्चा कार्यकर्ता र शुभचिन्तकहरूलाई सशङ्कित बनाएको छ। रवि, बालेन र स्वर्णिमबीचको यो त्रिपक्षीय शक्ति संघर्षले रास्वपालाई विचार र नीतिको जगमा पुनर्गठन गर्छ या आन्तरिक विभाजनतिर धकेल्छ ? त्यसको छिनोफानो भने आगामी दिनमा उनीहरूले गर्ने शक्ति अभ्यासले नै तय गर्नेछ।




प्रतिक्रिया