काठमाडौँ । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय युवा सञ्चारकर्मी सन्दीप यादव प्राइम टेलिभिजनको ‘मधेश प्रदेश ब्यूरो प्रमुख’मा नियुक्त भएका छन् ।
प्राइम टेलिभिजनका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाले यादवको कार्यक्षमता, दक्षता र पत्रकारिताप्रतिको समर्पणको कदर गर्दै उनलाई मधेश प्रदेश ब्यूरो प्रमुखको मुख्य जिम्मेवारी सुम्पेका हुन् ।
रौतहटको मौलापुर नगरपालिका वडा नं. ६ पथरा बुधराम स्थायी घर भएका यादव विगत आठ महिनादेखि प्राइम टेलिभिजनमा लोकप्रिय कार्यक्रम ‘नागरिक आवाज’को प्रस्तोताका रूपमा कार्यरत रहँदै आएका थिए । सो कार्यक्रममार्फत जनताका पीरमर्का, भ्रष्टाचार र समसामयिक मुद्दाहरूलाई सशक्तरूपमा उजागर गर्न सफल भएपछि टेलिभिजन व्यवस्थापनले उनलाई प्रादेशिक नेतृत्वको नयाँ जिम्मेवारी प्रदान गरेको हो ।
नवनियुक्त ब्यूरो प्रमुख यादवले जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा रहेर मधेश प्रदेशका आठै जिल्ला—धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सप्तरी र सिरहाको समाचार संकलन, सम्पादन तथा प्रसारणको नेतृत्व सम्हाल्नेछन् ।
प्राज्ञिक हिसाबले कानूनका विद्यार्थी समेत रहेका यादवसँग आमसञ्चारका विविध पक्षको अनुभव छ । यसअघि उनले स्पेस फोरके टेलिभिजनमा करिब तीन वर्ष कार्यक्रम प्रस्तोताका रूपमा काम गरिसकेका छन् । चार वर्षभन्दा बढीको टेलिभिजन पत्रकारिता अनुभव र कानूनी ज्ञानको जगमा मधेश प्रदेशमा प्राइम टेलिभिजनको उपस्थितिलाई अझ प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ ।
‘आफूलाई विश्वास गरेर यो ठूलो जिम्मेवारी सुम्पिनुभएकोमा अध्यक्ष ऋषि धमला र प्राइम टेलिभिजन परिवारप्रति आभारी छु। मधेश प्रदेशका वास्तविक समस्या, जनसरोकार र राजनीतिक घटनाक्रमलाई राष्ट्रिय स्तरमा मुखरित गर्न म प्रतिबद्ध छु’– नवनियुक्त ब्यूरो प्रमुख यादवले भने ।
मधेश प्रदेशको समसामयिक राजनीति र सामाजिक मुद्दाहरूलाई निर्भीक रूपमा उठाउन प्रादेशिक ब्यूरोलाई थप सशक्त बनाउने उद्देश्यका साथ यो नियुक्ति गरिएको टेलिभिजन व्यवस्थापनले जनाएको छ।















प्रतिक्रिया