मन्त्री मात्र होइनन्,आमा पनि: सीता बादीले स्तनपान गराएको दृश्यले जित्यो सबैको मन !


काठमाडौं। केही दिन अगाडि एक महिलाले नवजात शिशुलाई स्तनपान गराइरहेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो । भिडियोमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । ती स्तनपान गराइरहेकी महिला भने कुनै सामान्य नागरिक थिएनन् । उनी नेपाल सरकारकै मन्त्रीपरिषद्को एक सदस्य थिइन् ।

उनी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी हुन् । उनले जन्मेदेखि नै आमाको दूध खान नपाएकी १७ दिने बालिकालाई स्तनपान गराएको खुलेको छ । गत सनिवार मन्त्री बादीकै निर्देशनमा काठमाडौ नक्सालस्थित नेपाल बाल संगठनको केन्द्रिय कार्यालयमा रहेको बालगृह बाट २ वर्षमुनिका २० जना बालबालिकाको उद्धार गरिएको थियो ।

मन्त्रालयका सचिवालय टोली, काठमाडौं महानगरपालिका १ नम्बर वडा समिति सदस्य, महानगर बाल उद्धार कार्यदल संयोजक, काठमाडौं महानगर बाल अधिकार समिति सदस्य र प्रहरी वृत्त मालिगाउँका प्रतिनिधिको सहभागीतामा गरिएको उद्धारमा १५ दिनदेखि २ वर्षसम्मका १२ बालक र ८ बालिका रहेकोे बताइएको छ ।

उद्धार गरिएको दिन मन्त्री बादी गइनन् । उनी भोलिपल्ट उद्धार गरेर राखिएको बालगृहमा डा.रामजी रामको चिकित्सकीय टोलि लिएर पुगिन् । त्यँहा राखिएका बालबालिकाहरुमा विभिन्न किसिमको समस्या थियो । डा.रामजी रामको टोलि बालबालिकाको स्वास्थ्य जाँच गर्न लागे । मन्त्री बादी पनि चुप बसिनन् । उनले पनि बालबालिकाको दिसा सफा गर्नेदेखि अन्य सरसफाइ गर्न लागिन् ।

त्यहीँबेला १७ दिनकी एक शिशु रोइरहेकी थिइन् । उनलाई त्यँहा संलग्न टोलिले धेरै प्रयास गरे । तर उनको रुवाइलाई कसैले साम्य पार्न सकेनन् । त्यसपछि मन्त्री बादी शिशुको नजिक गएर बच्चालाई काखमा लिइन् । उनले ती शिशुलाई काखमा लिइन् र दूध पनि खुवाइन् । त्यसपछि शिशुको रुवाइ बन्द भएको मन्त्रीकी स्वकीय सचिव सोनिले बताइन् ।

मन्त्रीकी स्वकीय सचिव सोनिका अनुसार अहिले उक्त बालगृहमा उद्धार गरिएका बालबालिका हेर्न पाँच महिला खटाइएको छ । उनीहरू १ जनाले पाँच बालबालिकाको स्याहार गर्नेछन् ।

मन्त्री बादीले १९ महिने छोरालाई भने मन्त्रालयमै ल्याएर काखमा च्यापिरहेकि हुन्छिन् । उद्धार गरिएका ती अबोध बालबालिकाप्रतिको उनको व्यवहारले पद र जिम्मेवारीभन्दा माथि मानवीय संवेदना र मातृत्वको भावना रहेको सन्देश दिएको छ । आमाको माया र स्पर्शबाट वञ्चित १७ दिने शिशुलाई काखमा लिएर स्तनपान गराउनु केवल सहयोग मात्र नभई एक आमाको हृदयबाट निस्किएको मातृत्वको अनुभूति भएको भन्दै उनको कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।