काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास पुनः सुरु भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका शीर्ष सुरक्षा अधिकारीलाई पत्र पठाएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार इरानले पत्र प्राप्त गरे पनि अहिलेसम्म जवाफ दिएको छैन । समाचार संस्था तस्निमले एक स्रोतलाई उद्धृत गर्दै इरानले पत्र पाएको पुष्टि गरेको छ ।
भान्सले कसलाई, किन पठाए पत्र ?
‘द वाल स्ट्रिट जर्नल’का अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई पत्र पठाएका हुन् । दुवै देशबीच संवाद पुनः सुरु गर्ने र थप अमेरिकी सैन्य आक्रमण रोक्ने सम्भावना खोज्नु पत्रको उद्देश्य रहेको बताइएको छ ।
पत्रमा अमेरिकाले प्रतिबन्धमा केही छुट दिने बदलामा इरानले सात दिनभित्र होर्मुज जलमार्ग खोल्ने प्रक्रिया सुरु गर्नुपर्ने र आणविक कार्यक्रमबारे प्रतिबद्धता जनाउनुपर्ने सर्त राखिएको जनाइएको छ ।
यद्यपि, तत्काल कुनै ठोस शान्ति सम्झौता गर्नेभन्दा वार्ताको खाका तयार पार्ने प्रयासमा दुवै पक्ष केन्द्रित रहेको रिपोर्टमा उल्लेख छ ।
पत्र पठाइएको खबर सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले भान्सको पहललाई इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयसँग पनि जोडेर व्याख्या गरेका छन् ।
इरानले प्रतिबन्ध हटाउनेजस्ता उल्टाउन सकिने अमेरिकी कदमको बदलामा आफ्ना आणविक कार्यक्रमसम्बन्धी अपरिवर्तनीय प्रतिबद्धता जनाउन हिचकिचाएको बताइएको छ । विशेषगरी, उच्च संवर्धित युरेनियमको भण्डार तेस्रो मुलुकमा पठाउनेजस्ता निर्णयमा तेहरानले सावधानी अपनाएको छ ।
दुवै पक्षले प्रतिबद्धता पालना हुने सुनिश्चितताका लागि तेस्रो पक्षको ग्यारेन्टीबारे पनि छलफल गरेका छन् ।
कसरी सुरु भयो अमेरिका–इरान युद्ध ?
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डरहरूको मृत्यु भएको थियो । त्यसपछि इरानले पनि जवाफी कारबाही गर्दै इजरायल र पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाएको थियो ।
इरानले होर्मुज जलमार्गबाट व्यावसायिक जहाजको आवागमनमा कडा प्रतिबन्ध लगाएपछि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी गरेको थियो ।
होर्मुज जलमार्ग विश्वको प्रमुख समुद्री व्यापारिक मार्गमध्ये एक हो । विश्वमा खपत हुने कुल तेलको करिब पाँच भागको एक भाग यही मार्गबाट ओसारपसार हुन्छ । त्यसैले यस मार्गमा लगाइएको प्रतिबन्धले विश्वव्यापी तेल व्यापारमा समेत प्रभाव पारेको छ ।
होर्मुज खोल्न इरानका सर्त के छन् ?
इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्य गर्ने र समुद्री मार्ग पुनः खोल्ने प्रस्तावबारे मध्यस्थकर्ताहरूसँग छलफल भइरहेको बताएका छन् । तर, इरानले अमेरिकाले आफ्ना सात सर्त स्वीकार गर्नुपर्ने अडान राखेको छ ।
तस्निमका अनुसार इरानका प्रमुख मागमा सम्पूर्ण क्षेत्रमा युद्धविराम, विदेशमा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा, तेल उद्योगमाथिका आर्थिक प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल अन्त्य गर्ने विषय छन् ।
इरानले आफ्ना सर्त कमजोर पार्ने कुनै पनि प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारेको छ । एनआई, द गार्जियन र रोयटर्सबाट




प्रतिक्रिया