अभियान लिएर पर्सा पुगे ऋषि धमला, अस्पतालदेखि चिनी कारखाना र अधुरो पुलसम्म अवलोकन



पर्सा । वरिष्ठ पत्रकार तथा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ का संयोजक ऋषि धमला अभियानका क्रममा शनिबार पर्सा पुगेका छन्। उनले नारायणी अस्पताल, वीरगञ्ज चिनी कारखाना र पर्सा क्षेत्र नम्बर ३ र ४ जोड्ने भलुवाही खोलामा अलपत्र परेको पुलको स्थलगत अवलोकन गर्दै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका छन्।

नारायणी अस्पतालमा पुगेका धमलालाई सयौं स्थानीयले स्वागत गरेका थिए। अस्पताल निरीक्षणका क्रममा उनले बिरामीले सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिँदै अस्पताल व्यवस्थापनलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन सुझाव दिएका छन्।
उनले अस्पतालको सरसफाइ, औषधि तथा उपकरणको उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, बिरामीसँगको व्यवहार तथा समग्र सेवा व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए। सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन पारदर्शिता, जवाफदेहिता र अनुशासित सेवा प्रणाली अपरिहार्य रहेको उल्लेख गर्दै नारायणी अस्पताललाई मधेश प्रदेशकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा उनले राखे।

त्यस्तै, धमला २२ वर्षदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखानामा पुगे। कारखाना पुनः सञ्चालनको माग गर्दै इन्जिनियर अफजल हुसेनले थालेको आमरण अनसनप्रति उनले ऐक्यबद्धता जनाउँदै उद्योग सञ्चालनका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। बन्द उद्योग सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र पनि चलायमान हुने उनको भनाइ थियो।

यस्तै , धमलाले पर्सा क्षेत्र नम्बर ३ र ४ जोड्ने भलुवाही खोलाको अधुरो पुलको समेत अवलोकन गरेका छन्। पर्सागढी–सुगौली गाउँपालिका–४ र जीराभवानी गाउँपालिका–५ को सीमामा रहेको उक्त पुल निर्माण कार्य झण्डै दुई दशक बितिसक्दा पनि सम्पन्न हुन नसकेको भन्दै स्थानीयले ठेकेदारको लापरबाहीका कारण आफूहरू सास्ती भोग्नुपरेको गुनासो गरेका थिए।


स्थानीयका अनुसार पुल निर्माण नहुँदा स्वास्थ्य सेवा, कृषि उत्पादनको ढुवानी तथा अन्तरपालिका सम्पर्कमा गम्भीर असर परेको छ। एम्बुलेन्स गाउँसम्म पुग्न नसक्दा आकस्मिक बिरामीलाई समयमै अस्पताल लैजान कठिन हुने र कतिपय अवस्थामा ज्यानसमेत गुमाउनुपरेको दुःखद अवस्था रहेको स्थानीयले धमलालाई सुनाएका थिए।


उक्त पुल निर्माणको ठेक्का पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रामाकान्तप्रसाद चौरसियासँग सम्बन्धित रहेको स्थानीयले बताए । निरीक्षणपछि धमलाले पुल निर्माण कार्य यथाशीघ्र सम्पन्न गराउन सरकार र सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वतन्त्र नागरिक अभियानअन्तर्गत पर्सा पुगेका धमलाले नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने, सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियानलाई देशभर निरन्तर अघि बढाइने बताएका छन्।