सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक दल वा सदस्यले आउँदो साउन १२ गते साँझ ५ बजेभित्र आफ्नो दाबी पेश गरिसक्नुपर्नेछ।
गत असार ३२ गते नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वास प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक परिस्थितिबीच मुख्यमन्त्री कँडेलले राजीनामा दिने निर्णयमा पुगेका थिए ।
कँडेल नेतृत्वको सरकार ढलेपछि अब कर्णालीमा कुन दलको नेतृत्वमा नयाँ सरकार बन्छ भन्ने चासोको विषय बनेको छ।




प्रतिक्रिया