काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको तीनबुँदे सहमतिलाई लिएर उत्पन्न असन्तुष्टि साम्य पार्न दौडधुप सुरु भएको छ । एमाले-नेकपाबीचको शक्ति बाँडफाँटप्रति असन्तुष्ट बनेका नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई विश्वासमा लिन संयोजक प्रचण्ड सोमबार कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन् ।
गत शनिबार ओली र प्रचण्डबीच देशका पाँच प्रदेशमा सरकार गठन र शक्ति बाँडफाँटका विषयमा तीनबुँदे सहमति भएको थियो । उक्त सहमतिलाई लिएर सहसंयोजक नेपालले भने गम्भीर आपत्ति जनाउँदै आएका छन् । सहमति केवल ‘सत्ता केन्द्रित’ मात्र भएको र त्यसमा नीतिगत स्पष्टता नरहेको भन्दै नेपाल पक्ष असन्तुष्ट बनेपछि प्रचण्ड आफैं कोटेश्वर पुगेका हुन् ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणलाई मजबुत बनाउने उपाय र नयाँ सहमतिका विविध विषयमा छलफल भएको छ ।
भेटबारे जानकारी दिँदै नेपालका सहयोगी लक्ष्मण रेग्मीले वर्तमान राजनीतिक अवस्था र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेर दुई नेताबीच कुराकानी भएको बताए ।
यता, नेपाल निकट नेता रामकुमार भट्टराईले भने नयाँ सरकारको स्पष्ट खाका नआएसम्म सहमति परिपक्व हुन नसक्ने बताएका छन् । “नयाँ सरकारले गर्ने काम, जनतालाई दिने सेवा र नीतिगत प्राथमिकताबारे स्पष्ट दृष्टिकोण नआएकाले अहिलेकै अवस्थामा सहमति परिपक्व भएको छैन भन्ने नै माधव नेपालको बुझाइ छ,” भट्टराईले भने ।
शनिबार ओली र प्रचण्डबीच भएको सहमतिअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पाउनेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने उल्लेख छ ।
भेटका क्रममा संयोजक प्रचण्डले सत्ता सहकार्यलाई बलियो र दिगो बनाउन माधव नेपालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई पूर्ण विश्वासमा लिएर मात्रै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।




प्रतिक्रिया