जनकपुरधाम, ११ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताएका छन् ।
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरुसँगको छलफलमा उनले समयको मागसँगै क्याम्पसहरुले शिक्षा क्षेत्रको संचरनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्ने बताए ।
पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले क्याम्पसले समयअनुसार पठनपाठनमा सुधार ल्याउँदै परीक्षाका क्रममा हुने अमर्यादित गतिबिधि रोक्न निर्देशन समेत दिए ।
क्याम्पसको भौतिक संरचनाको सुधारका लागि तत्काल लेखेर पठाउन निर्देशन दिर्दै उनले मन्त्रालयबाट हुने सहयोग तत्काल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
क्पाम्पसमा बिलिङ्ग प्रणालीलाई अनलाइन गर्न, क्पाम्पसभित्र सरसफाइमा सुधार ल्याउन र क्याम्पसभित्र रहेको पुस्तकालयमा देखिएको समस्या तत्काल समाधान गर्न समेत निर्देशन दिए । क्याम्पस प्रमुख प्रा डा वसन्तकुमार कर्णले क्याम्पसको अवस्था, भइरहेको सुधारको प्रयास र योजनाबारे मन्त्री पोखरेललाई अवगत गराए ।
सो क्रममा मन्त्री पोखरेलले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुसँग समेत छलफल गरे । छलफलका क्रममा विद्यार्थीहरुले क्याम्पसमा खानेपानी, शौचालयको समस्या रहेको, सरसफाइमा सुधार नभएको र पुस्तकालयको अवस्था ठीक नरहेको गुनासो गरेका थिए ।
यसअघि आजै मन्त्री पोखरेल जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सङ्कट मोचन देवशरण रामरती माविका विद्यार्थीहरुलार्य विभिन्न प्रकारको खेलकुद सामग्रीहरु वितरण गरेका थिए ।




प्रतिक्रिया