आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


काठमाडौं, साउन १२ । नेपाल चिकित्सक संघले आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा आज देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले अस्पतालका डा. प्रमोद रामलगायत घाइते चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ ।

संघले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि कारबाही गर्न माग गरिएको छ। आन्दोलनका थप कार्यक्रम आजको सर्वपक्षीय भेलाले तय गर्ने जनाइएको छ। आन्दोलनबाट बिरामीलाई पर्ने असुविधाप्रति क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं हुने संघले स्पष्ट पारेको छ।

घाइते मेडिकल अफिसर डा। रामलाई थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था जानकारी लिएकी थिइन्। नारायणी अस्पतालको घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।