माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु


काठमाडौँ। सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै लघुवित्त तथा वित्तीय संस्थाबाट पीडितहरूको अर्को समूहले काठमाडौँको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ।

यसअघि पीडितहरूकै एक समूहले सरकारसँग वार्ता गरी आन्दोलन स्थगित गरेको भए पनि आफूहरूले अझै न्याय नपाएको भन्दै यो समूह कडा आन्दोलनमा उत्रिएको हो।

संघर्ष समितिका अनुसार ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू लामो समयदेखि लघुवित्त संस्थाहरूको चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी र गैरकानुनी असुलीको मारमा पर्दै आएका छन्। पटक-पटक सरकारसँग सहमति भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नभएपछि अन्तिम विकल्पका रूपमा आमरण अनशन बस्नुपरेको उनीहरूको भनाइ छ।

आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका विरोधका कार्यक्रमहरू निरन्तर जारी राख्ने चेतावनी संघर्ष समितिले दिएको छ।