काठमाडौँ। र्याप सङ्गीतको मञ्च, इन्जिनियरिङको प्राविधिक धरातल, काठमाडौँ महानगरको नेतृत्व हुँदै देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) सम्मको यात्रा बालेन्द्र शाह (बालेन) को यो राजनीतिक उत्कर्ष नेपाली राजनीतिक इतिहासकै एक असाधारण र सनसनीपूर्ण परिघटना हो। विशाल सांगठनिक संयन्त्र, ठूला राजनीतिक विरासत, विचार र सिद्धान्तका ठेली तथा असीमित स्रोत-साधनबिना राजनीति सम्भव छैन भन्ने परम्परागत भाष्यलाई बालेनले ३५ वर्षको उमेरमै पूर्णतः भत्काइदिए।
तर, दृश्यमा देखिएका बालेनको यो अभूतपूर्व सफलताका पछाडि अदृश्य रूपमा रणनीतिक तानाबाना बुन्ने ‘मास्टरमाइण्ड’ को थिए ? राजनीतिक वृत्तमा अचेल एउटा नाम निकै चासो र चर्चाको केन्द्रमा छ- कुमार व्यञ्जनकार अर्थात् कुमार बेन। बालेनका ‘चाणक्य’ मानिने बेन नै ती पात्र हुन्, जसले मिडियाभन्दा टाढा रहेर बालेनको राजनीतिक यात्राको हरेक मोड, रणनीतिक उकाली–ओराली र शक्ति समीकरणको खाका कोरिरहेका छन्।
को हुन् कुमार बेन ?
कुमार बेन कुनै ठूला राजनीतिक पार्टीका शीर्ष नेताका सन्तान वा सम्भ्रान्त घरानाका व्यक्ति होइनन्, तर उनको पृष्ठभूमि, निष्ठा, जनसम्बन्ध र स्थानीय राजनीतिको बेग्लै मानकमा जोडिएको छ। उनी ललितपुरका इतिहासपुरुष मानिने नरसिंह व्यञ्जनकारका छोरा हुन्।
नरसिंह व्यञ्जनकार तिनै व्यक्तित्व हुन्, जसले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा लगातार १० पटकसम्म ललितपुरको वडाध्यक्ष जितेर कीर्तिमान रचेका थिए। अधिकांश समय कुनै ठूलो दलको छहारीबिना स्वतन्त्र उम्मेदवार बनेर जनताको मन जित्ने नरसिंहलाई बालेनले आफ्नो मुख्य राजनीतिक प्रेरणा स्रोत मान्दै आएका छन्।
ललितपुरको कुपण्डोल र ज्वागलको माटोमा हुर्केका कुमार बेनले राजनीति सिद्धान्तको जडताबाट होइन, नागरिकका दैनिक अभाव र सानातिना समस्या समाधानबाट शुरु हुन्छ भन्ने व्यावहारिक ज्ञान आफ्नै पिताबाट सिके। बाबुको त्यही जनमुखी कार्यशैली र रैथाने चेतलाई बेनले आधुनिक रणनीति र विश्लेषणात्मक ढाँचामा ढालेका छन्।
कस्तो छ बेनको अध्ययन र कार्यशैली ?
कुमार बेन परम्परागत भाषणबाजी वा नारामा विश्वास गर्दैनन् । उनी तथ्याङ्क, अनुसन्धान र डिजिटल प्रविधिमा आधारित राजनीतिक रणनीतिका चतुर पारखी मानिन्छन् । शिक्षाका हिसाबले प्राविधिक र व्यवस्थापकीय सोच राख्ने बेनको मुख्य बलियो पक्ष नै तथ्यमा आधारित निर्णय प्रणाली हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा बालेनले उम्मेदवारी घोषणा गर्नुअघि नै बेनको नेतृत्वमा ३० हजारभन्दा बढी मतदातासँग सूक्ष्म अनुसन्धान र सर्वेक्षण गरिएको थियो। जब तथ्याङ्कले नतिजा बालेनको पोल्टामा पर्ने प्रस्ट सङ्केत गर्यो, तब मात्र उनी चुनावी मैदानमा उत्रेका थिए।
काठमाडौँ महानगरको मेयर बनेपछि अपनाइएका फुटपाथ व्यवस्थापन, अवैध संरचना हटाउने कदम, सार्वजनिक सम्पत्तिको संरक्षण तथा काठमाडौँ र ललितपुरका उपत्यकाव्यापी सांस्कृतिक–नेवार संवेदनशीलताको सूक्ष्म विश्लेषण गरेर बालेनलाई सही समयमा सही सुझाव दिने मुख्य काम बेनकै टोलीले गरेको बताइन्छ ।
बेनलाई बालेनले किन औधि रुचाए ?
बालेन र बेनबीचको सम्बन्ध नेता र सल्लाहकारको मात्र होइन, यो एकप्रकारको परिपूरक वा अन्योन्याश्रित सम्बन्ध हो। बालेनसँग कडा निर्णय लिने आँट, पपुलिस्ट शैली र इन्जिनियरिङ दृष्टिकोण छ भने बेनसँग त्यस निर्णयले पार्ने सामाजिक–राजनीतिक प्रभावको लेखाजोखा गर्ने रणनीतिक चेत छ। बालेनको ‘एक्सन‘लाई बेनको ‘रिसर्च’ले पूर्णता दिन्छ, अनि बेनलाई प्रचारबाजीको कुनै मोह नै छैन । महानगरमा काम गर्दा कुनै पनि सरकारी गाडी वा सुविधा नलिई ज्वागलस्थित घरबाट हिँडेरै कार्यालय पुग्ने उनको सादगीपनले बालेनलाई आकर्षित गर्यो। शक्ति र सत्ताको केन्द्रमा पुग्दा पनि व्यक्तिगत लाभभन्दा टाढा रहने र पर्दापछाडि बसेर काम गर्ने बेनको निष्ठाका कारण बालेनले उनलाई आफ्नो सबैभन्दा भरोसायोग्य पात्रका रूपमा रोजेका हुन्।
बालेनलाई के–कस्ता सुझाव दिन्छन् बेन ?
प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको भूमिकामा पुगिसकेपछि पनि बेनको सल्लाह दिने शैली उस्तै छ- कम बोल्ने, बढी विश्लेषण गर्ने। उनी मुख्यतः निम्न विषयहरूमा बालेनलाई निर्देशन र सुझाव दिन्छन्–
– सामाजिक सञ्जालको ट्रेन्ड र नागरिकको असन्तुष्टिलाई तथ्याङ्कमा ढालेर सरकारले लिनुपर्ने नीतिको खाका तयार पार्ने,
– उपत्यकाको सांस्कृतिक, सामाजिक र रैथाने समुदायको भावना नदुख्ने गरी विकास निर्माण र प्रशासनिक कदम चाल्ने,
–मिडियामा धेरै अन्तर्वार्ता दिनुभन्दा काम र साङ्केतिक सन्देशमार्फत जनतासँग जोडिने, इत्यादि।
ज्वागलको त्यो घर, जहाँबाट राष्ट्रिय राजनीतिले लियो नयाँ मोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेनबीचको प्रारम्भिक वार्ता, गत फागुन २१ को चुनावी सहकार्यको तानाबाना, चुनावी रणनीति र झापा–५ बाट बालेनको उम्मेदवारी तय गर्नेसम्मका सम्पूर्ण रणनीतिक व्यवस्थापन बेनकै ज्वागलको घरबाट मिलाइएको थियो। नतिजास्वरूप नयाँ राजनीतिक समीकरणको बलमा बालेन देशको प्रधानमन्त्री बन्न पुगे।
काठमाडौँको सडकदेखि सिंहदरबारको शक्तिकेन्द्रसम्मको यात्रामा बालेन शाह दृश्यका मुख्य नायक हुन् भने कुमार बेन त्यस यात्रका कुशल निर्देशक हुन्। परम्परागत राजनीतिक दलका पुराना संयन्त्र र दलीय दम्भलाई चुनौती दिँदै देशको बागडोर सम्हाल्नेसम्मको यो सफलतामा देशका कार्यकारी प्रमुख बालेनको आँट र उनका सल्लाहकार बेनको दिमाग नै आजको नेपाली राजनीतिको सबैभन्दा सफल रणनीतिक जोडीका रूपमा स्थापित भएको छ।




प्रतिक्रिया