काठमाडौँ। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन शाहको पहिलो विदेश भ्रमण कहाँ होला भन्ने व्यापक अड्कलबाजी र चासोका बीच अन्ततः उनको पहिलो औपचारिक विदेश भ्रमण भारत नै हुने भएको छ। चीन वा जापानजस्ता देशहरूको भ्रमण पहिले हुनसक्ने आँकलन गरिए पनि परम्परागत कूटनीतिक प्राथमिकतालाई निरन्तरता दिँदै बालेन दिल्ली उत्रने तयारीमा जुटेका छन्।
भारत सरकारका तर्फबाट प्राप्त औपचारिक निमन्त्रणा स्वीकार भइसकेसँगै अहिले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय भ्रमणको प्रारम्भिक तयारी र एजेन्डा तय गर्न व्यस्त छ। यद्यपि भ्रमणको अन्तिम मिति घोषणा हुन बाँकी छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको मौरिसस भ्रमणका क्रममा भारतीय समकक्षी एस. जयशंकरसँग भएको भेटवार्तामै प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे प्रारम्भिक छलफल भएको थियो। भारतीय विदेशमन्त्री जयशंकरले भ्रमणको पूर्वतयारीका लागि चाँडै भारतीय विदेश सचिवलाई काठमाडौँ पठाउने प्रतिबद्धता जनाएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको प्रारम्भिक खाका तयार भइरहेको छ भने मन्त्रालय स्रोतले भारतीय उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली भ्रमणको तयारीलाई अन्तिम रूप दिन चाँडै काठमाडौँ आउन लागेको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले पनि बालेनको पहिलो विदेश यात्रा भारतबाटै शुरु हुने स्पष्ट पारेका छन्।
नेपाल–भारत सम्बन्धमा वर्षौँदेखि कायम फराकिलो व्यापार घाटा न्यूनीकरण गर्नु नेपालका लागि प्राथमिक चुनौती हो। भ्रमणका क्रममा नेपाली कृषिजन्य उत्पादन, हस्तकला र औद्योगिक वस्तुहरूलाई भारतीय बजारमा सहज पहुँच स्थापित गर्ने नेपाल पक्षको स्पष्ट अडान हुनुपर्नेमा परराष्ट्रविद्हरुले जोड दिएका छन् ।
यसैगरी, ऊर्जा व्यापारको क्षेत्रमा नेपालको जलविद्युत् दीर्घकालीन रूपमा भारतीय बजारमा बिक्री गर्ने सम्झौताको दायरा फराकिलो बनाउने र बंगलादेशसम्म विद्युत् निर्यातका लागि भारतीय प्रसारण लाइनको सहज र सुदृढ प्रयोग सुनिश्चित गराउन पनि प्रधानमन्त्रीको भ्रमणमा आर्थिक एजेन्डा बनाउनुपर्ने सुझाव परराष्ट्रविद्हरुले दिएका छन् । उनीहरुले मनसुनका बेला नेपालको तराई क्षेत्रमा सिर्जित हुने डुबान र जनधनको क्षतिको दीर्घकालीन समाधान पहिल्याउन पनि नेपाल सरकारले स्पष्ट अडान राख्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै, लामो समयदेखि अल्झिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना जस्ता ठूला जलस्रोत परियोजनाहरूको स्पष्ट कार्यान्वयन खाका तयार गरी संयुक्त जलस्रोत व्यवस्थापनलाई मूर्तरूप दिने गरी तयारी गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
नेपाल–भारत सम्बन्धलाई हेर्ने परम्परागत दृष्टिकोणमा पछिल्लो समय प्रविधिको आयाम थपिएको छ। परराष्ट्रविदहरूका अनुसार दुई देशबीचको परापूर्वकालदेखिको रोटीबेटी र सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउँदै आधुनिक डिजिटल युगअनुकूल नयाँ सहकार्यको ढोका खोल्न आवश्यक छ।
विज्ञहरु भन्छन्, ‘नेपाल र भारतबीचको सांस्कृतिक तथा रोटीबेटीको सम्बन्ध हाम्रा आधारशिला हुन्। तर अबका दिनमा नेपाली युवाको क्षमता अभिवृद्धि गर्दै सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा भारतीय बजारमा सहकार्य र रोजगारीका अवसरहरू सिर्जना गर्न स्पष्ट कूटनीतिक पहल गर्नुपर्छ।’
भारतमा तीव्र गतिमा विस्तार भइरहेको आइटी र एआई जस्ता प्रविधि क्षेत्रमा नेपाली युवाहरूलाई रोजगारी र प्राविधिक पहुँच उपलब्ध गराउने विषयलाई एजेन्डाका रूपमा समावेश गर्न सकिएमा यसले दुवै देशका युवापुस्तालाई जोड्ने नयाँ कूटनीतिक पुलको काम गर्ने विज्ञहरूको भनाइ छ।




प्रतिक्रिया