वीरगञ्जका ६८ चिकित्सकको सामूहिक राजीनामा


काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट तथा जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा भएको दुर्व्यवहारको विरोध गर्दै उनीहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन्।

गत साउन ८ गते डा. प्रमोद राममाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलन गर्दै आएका थिए।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार मन्त्रालयको आग्रहमा वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकहरूलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अपशब्द प्रयोग गर्दै करिब एक घण्टा नियन्त्रणमा लिएका थिए। प्रशासनले अपराधीसरह व्यवहार गरेपछि काम गर्ने वातावरण नरहेको निष्कर्ष निकाल्दै सरकारी चिकित्सकहरू सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्।

यसै घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।