वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीभित्र शोक मनाउने निर्णय गरेको छ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै साउन १३, १४ र १५ गतेसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो। निर्णयअनुसार साउन १४ गते देशभरका पार्टी कार्यालयहरू बन्द रहनेछन्।

७९ वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित हेलिअस अस्पतालमा मङ्गलबार निधन भएको थियो। कांग्रेसद्वारा जारी शोक प्रस्तावमा उनलाई लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा संगठन निर्माणमा अतुलनीय योगदान पुर्‍याएका अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गरिएको छ।

विद्यार्थी जीवनदेखि नै निरन्तर कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनका क्रममा करिब छ वर्ष जेल जीवन बिताएका थिए। उनी २०४८, २०५६ र २०६४ को निर्वाचनमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० मा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बनेका थिए।

आफ्नो लामो राजनीतिक यात्राका क्रममा श्रेष्ठले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत थिए।

लोकतन्त्र, संगठन निर्माण र सार्वजनिक जीवनमा श्रेष्ठले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले जनाएको छ। पार्टीले स्वर्गारोहणको १३ दिनसम्म सबै कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जनपश्चात् शोकसभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।