रवि भन्छन्– ‘सरकारले दायित्व पूरा गर्नेमा विश्वस्त छौँ’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्ने समय अझै भइनसकेको स्पष्ट पारेका छन्।

सर्वदलीय बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो तोकिएको जिम्मेवारीअनुसार नै काम गरिरहेको उल्लेख गर्दै अहिल्यै सरकारबारे कुनै नकारात्मक वा अन्तिम निष्कर्षमा पुग्नु उपयुक्त नहुने धारणा राखे।

“प्रधानमन्त्री र सरकारले आफ्नो तर्फबाट नियमित काम गरिरहनुभएको छ। अहिले नै हामी समीक्षा नै गरिहाल्ने विन्दुमा पुगेका छैनौँ,” लामिछानेले भने, “उहाँले आफ्नो दायित्व कुशलतापूर्वक पूरा गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”

देवानगञ्ज घटनापछि आह्वान गरिएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्टि व्यक्त गर्दै प्रश्न उठाएका थिए। सोही विषयमा स्पष्ट पार्दै लामिछानेले यो बैठक मुख्यत: राजनीतिक दलका शीर्ष नेताहरूबीच संवादका लागि आयोजना गरिएकाले सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको बताए।

मुलुकको वर्तमान अप्ठ्यारो र संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच निरन्तर सहकार्य, संवाद र आपसी समझदारीको आवश्यकता औँल्याउँदै लामिछानेले बैठकमा सहभागी सम्पूर्ण दलहरूले सामाजिक सद्भाव र शान्ति-सुरक्षा कायम राख्न साझा प्रतिबद्धता जनाएको जानकारी दिए।

साथै, घटनाको प्रारम्भिक चरणमै सरकारको भूमिकालाई लिएर कुनै निष्कर्षमा नपुग्न आग्रह गर्दै उनले सरकारले आफ्नो दायित्व र जिम्मेवारी पूर्णरूपमा पूरा गर्ने विश्वास व्यक्त गरे।