सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी भने घट्यो


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने सेतो धातु चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन (बुधबार) को तुलनामा छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो।

सुनको मूल्य बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। महासङ्घका अनुसार बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको उतारचढावका कारण स्थानीय बजारमा समेत प्रभाव परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७६ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।