प्रतिनिधिसभाः कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण


काठमाडौँ, १४ साउन । प्रतिनिधिसभाको आजको बैठकमा पनि सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ ।

बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिए ।

संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गरेको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताइन् ।

उनले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् । सरकारको पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षासहित सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले सीमाका विषयमा दुई महिनाअघि संसद्मा बोलेको विषय सच्याउन अनुरोध गरिन् । सुकुमवासी समस्याको समाधान छिटो गर्न, रासायनिक मलको व्यवस्था गर्न, मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएका र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको भन्ने विषयलाई गम्भीर रुपमा लिई सकुसल नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

यही साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको उनले आरोप लगाइन् । उनले उत्तेजना, आवेगले ठीक ठाउँमा नपुग्ने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन सरकारसँग अनुरोध गरिन् । ‘सबै बाँचौँ, सबैलाई बचाऔँ’ को अवधारणामा काम गर्नुपर्ने भनाइ सांसद अर्यालको थियो । यसैगरी, उनले देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पटकपटक गर्दा पनि पूरा नभएको भनी दुःख व्यक्त गरे । सुनसरीको कप्तानगञ्जमा भएको घटनाका विषयमा राज्य संवेदनशील नभएको उनले आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताइन् । सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उनले सरकारका तर्फबाट थप पहलको आवश्यकता औँल्याइन् । सांसद ओलीले समाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरिन् ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले दुई महिनाअघि सिमानाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषय स्पष्ट नभएको र संसद्को अभिलेखबाट सो कुरा नहटेको बताए ।

उनले सुनसरीलगायत क्षेत्रमा देखिएको घटना र अशान्तिको विषय समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै समाधानका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा व्यक्त गरे । सांसद राईले यस्ता समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने धारणा व्यक्त गरे । रासस