काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
गत भदौ १० गते आएको विनाशकारी बाढीमा माथिल्लो त्रिशूली–३ ‘१’ आयोजनाको क्याम्पबाट केही व्यक्ति बेपत्ता भएको भन्दै उनीहरूले बेपत्ताको तत्काल खोजी गर्न माग गरेका छन्। प्रदर्शनमा सहभागी परिवार तथा आफन्तले बाढी आउनुअघिको क्याम्प क्षेत्रको सीसीटीभी फुटेज सार्वजनिक गर्नसमेत माग गरेका छन्।
उनीहरूले बेपत्ताको अवस्था सार्वजनिक गर्न र खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बेपत्ता आफन्तको खोजीका लागि दक्षिण कोरियाली निर्माण कम्पनी डोसानसँग आग्रह गर्दा आफूहरूलाई ज्यान मार्ने धम्की दिइएको प्रदर्शनकारीको आरोप छ।
बाढी आउनुअघि आवश्यक सावधानी र पूर्वतयारी नअपनाउँदा कम्पनीको लापरबाहीका कारण घटना भएको उनीहरूको दाबी छ। परिवारका सदस्यहरूले आफ्ना आफन्तको खोजीलाई प्राथमिकतामा राख्न, घटनासँग सम्बन्धित सीसीटीभी लगायतका प्रमाण सुरक्षित तथा सार्वजनिक गर्न र घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको ठूलो बाढीका कारण आयोजनाको क्याम्पसहित आसपासका क्षेत्रमा क्षति पुगेको थियो। बाढीपछि बेपत्ता भएकाहरूको अवस्था अझै स्पष्ट नभएको भन्दै परिवार तथा आफन्तले खोजी कार्य तीव्र बनाउन दबाब दिँदै आएका छन्।




प्रतिक्रिया