बल प्रयोग होइन संवाद रोज्न नेविसंघको आग्रह


काठमाडौँ । सत्तारूढ दलसम्बद्ध प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुनसरीको देवानगन्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनाक्रममा सुरक्षा निकायको गोली लागेर भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेविसंघले सरकारलाई दमन र अत्यधिक बल प्रयोगको बाटो तुरुन्त छाडेर वार्ता र संवादमार्फत समस्या समाधान गर्न कडा आग्रह गरेको छ।

नेविसंघ अध्यक्ष करुणा कुँवरद्वारा जारी विज्ञप्तिमा सुनसरी देवानगन्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहाका गणेश यादवलगायत घटनामा ज्यान गुमाएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै झडपमा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै नेविसंघले बारम्बार गरिने अत्यधिक बल प्रयोगले समस्या सुल्झाउनुको साटो समाजमा थप अविश्वास र तनाव मात्रै बढाउने ठम्याइ प्रस्तुत गरेको छ। वर्तमान गम्भीर र संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै नेविसंघले प्रधानमन्त्री तथा गृहमन्त्रीलाई घटनाप्रति थप जिम्मेवार, संवेदनशील र सक्रिय बन्न ध्यानाकर्षण गराएको छ।

राज्यले दमनको बाटो तत्काल त्यागेर सबै सरोकारवाला पक्षहरूसँग गम्भीर संवादमा जुट्नुपर्नेमा जोड दिँदै नेविसंघले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै क्षेत्रलाई संयम अपनाउन अपिल गरेको छ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भ्रातृत्व नै नेपाली समाजको मौलिक पहिचान भएको उल्लेख गर्दै विज्ञप्तिमा कुनै पनि किसिमका भ्रम, भ्रामक अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। नेविसंघले आम नागरिकलाई शान्त र जिम्मेवार भूमिकामा उभिन आह्वान गर्दै संवाद र सहमतिबाटै वर्तमान सङ्कटको दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरेको छ।