काठमाडौं । कोशी र मधेस प्रदेशका केही जिल्लामा पछिल्ला दिनदेखि उत्पन्न तनावलाई सामान्य बनाउन नागरिकस्तरबाट पनि पहल सुरु भएको छ । नागरिकस्तरबाट पहलस्वरूप वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरेका छन्।
शुक्रवार जिल्लागत भ्रमणमा निस्केका धमलाले विभिन्न सरोकारवालासँग अन्तरसंवाद गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेका छन् ।
भ्रमणका क्रममा पर्सा पुगेका धमलाले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी दाहालले घटनापछि जिल्लाको सुरक्षा अवस्थालाई सामान्य बनाउन सबै सुरक्षा निकायलाई परिचालन गरिएको र परिस्थितिलाई नियन्त्रणमा राख्न आवश्यक कदम चालिएको जानकारी दिए ।
त्यसपछि बाराको सिमरामा पुगेका धमलाले उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया गर्दै बुद्धको जन्मभूमि नेपालमा हिंसा, द्वेष र सामाजिक विभाजनको कुनै स्थान नरहेको बताए। उनले अहिलेको सबैभन्दा ठूलो आवश्यकता धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र संयमता रहेको उल्लेख गरे।
उनले भने, “नेपालीहरू भाइचाराको सम्बन्धमा बाँधिएका छन्। हामी एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्ने समुदाय हौं। नेपालीहरूको छाती विशाल छ, हृदय विशाल छ। त्यसैले अहिले हामीलाई आपसी सद्भाव, संयमता र एकताको आवश्यकता छ।”
धमलाले सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे। कानुनको निष्पक्ष कार्यान्वयनबाट मात्र नागरिकमा न्यायको अनुभूति हुने उनको भनाइ थियो।
यस्तै, वर्तमान परिस्थितिलाई सामान्य बनाउन प्रधानमन्त्री बालेन शाहले सर्वदलीय बैठक बोलाई सबै पक्षबीच संवाद र सहमतिको वातावरण बनाउनुपर्ने धारणा पनि उनले व्यक्त गरे। उनले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर सामाजिक सद्भाव कायम गर्न प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया