धार्मिक सहिष्णुता कायम राख्न अपिल गर्दै गोलबजारमा पुगे ऋषि धमला, मृतत यादवको परिवारलाई भेट्दै



काठमाडौं । कोशी र मधेस प्रदेशका केही जिल्लामा पछिल्ला दिनदेखि उत्पन्न तनावलाई सामान्य बनाउन नागरिकस्तरबाट पनि पहल सुरु भएको छ।


यसै क्रममा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रभावित जिल्लाको स्थलगत भ्रमण थालेका छन्। शुक्रबारदेखि जिल्लागत भ्रमणमा निस्केका धमला आज बिहानै सिराहाको गोलबजार पुगेका हुन्।


गोलबजारमा उनले स्थानीयहरुसँग अन्तरसंवाद गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै, सुरक्षा निकाय परिचालनपछि मधेसको समग्र वातावरण क्रमशः सामान्य र शान्त बन्दै जाने विश्वास पनि उनले व्यक्त गरे ।


केही दिनअघि सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। धमलाले आजै मृतक यादवका परिवारसँग भेट गरी समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने तयारी गरेका छन् ।

स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक धमलाले मधेसमा पछिल्लो समय देखिएको तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी विश्वास र भाइचाराको भावना सुदृढ बनाउन निरन्तर सक्रिय पहल गरिरहेका छन्। प्रभावित क्षेत्रको स्थलगत भ्रमण, सरोकारवालासँग संवाद तथा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै उनले शान्ति, एकता र सहअस्तित्वको सन्देश प्रवाह गरिरहेका छन्।


धमलाले शुक्रबार पर्सा, बारा लगायतका जिल्लामा पुगेर त्यँहाका स्थानीय, उद्योगी-व्यवसाय र प्रमुख जिल्ला अधिकारीसँग अन्तरसंवाद गरेका थिए ।