नर्सिङ कलेज सञ्चालनबारे छलफल भएकाे छ : रानामगर


झापा । प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताएकी छन् ।

सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो ।

छलफलमा झापा क्षेत्र नं २ अन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि सङ्घीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबिच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको उनले बताए । 

भद्रपुर नगरपालिका–८ मा स्थित २०० शय्याको मेची प्रादेशिक अस्पताल २०१५ सालमा स्थापना भएको हो । रासस