ब्रोड पिक हिमपहिरो: निम्स दाइसहित हराएका सबै पर्वतारोहीहरूको निधन


काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका सबै सदस्यहरूको ज्यान गुमेको आरोहण टोली एलाइट एक्स्पेडले जानकारी दिएकाे छ ।

निर्मल पुर्जा नेतृत्वको उक्त संस्थाले दुर्घटनामा उनीसँगै उनका सहकर्मी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायतका टोली सदस्यहरूले ज्यान गुमाएको शनिबार दिउँसो पुष्टि गरेको हो।

एलाइट एक्सपेडले शोक वक्तव्य सार्वजनिक गर्दै भनेको छ- ‘आज हामीले निम्सलाई मात्र नभई यस त्रासदीमा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा लगायत सबैलाई गुमाएका छौँ। यस अकल्पनीय क्षतिमा शोक सन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।’

पाकिस्तानमा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार बिहान करिब ९ बजेतिर हिमपहिरो जाँदा निर्मल पुर्जासहित १० जनाको आरोहण टोली सम्पर्कविहीन भएको थियो।