काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला मधेस केन्द्रित जिल्लाहरूको चारदिने भ्रमण सम्पन्न गरी आइतबार काठमाडौं फर्किएका छन्। भ्रमणका क्रममा उनले पीडित परिवार, घाइते, स्थानीय नागरिक, प्रशासन र सरोकारवालासँग भेटघाट तथा संवाद गर्दै शान्ति, सद्भाव र न्यायको पक्षमा निरन्तर पहल गरेका छन्।
धमलाले सनिवार सुनसरीको देवानगञ्ज गाउँपालिकामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता तथा उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारलाई भेटेर समवेदना व्यक्त गरे।

उनले सरकार र पीडित परिवारबीच भएका सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिए।
सनिवार साँझ देवानगञ्जमै आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा सहभागी हुँदै उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । आज बिहान विराटनगरस्थित विराट नर्सिङ होम र न्युरो अस्पताल पुगेर आन्दोलनमा घाइते भएर उपचाररत सात जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। उनले चिकित्सकलाई उपचारमा कुनै कमी हुन नदिन र घाइतेको उपचार तथा खानपिन गुणस्तरीय बनाउन आग्रह गरे।

भ्रमणका क्रममा धमलाले सनिवार बिहानै सिरहाको गोलबजार पुगेर प्रदर्शनका क्रममा मृत्यु भएका गणेश यादवका परिवारलाई पनि भेटेका थिए। त्यसैगरी पर्सा र बारामा स्थानीय नागरिक, उद्योगी–व्यवसायी तथा प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्ने सन्देश दिएका थिए।

चारदिने भ्रमणपछि गृहमन्त्री सुधन गुरुङसँगै काठमाडौं फर्किएका धमलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्रीले पीडित पक्षसँग भएको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएको जानकारी दिए। उनका अनुसार गृहमन्त्री गुरुङले पीडित परिवारसँग भएका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।




प्रतिक्रिया