डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी


काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन्।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा आज सामाजिक सञ्जालको अवस्थाबारे भएको छलफलमा मन्त्री वादीले सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा जोड छन्। उनले बालबालिका र महिला सबैभन्दा बढी डिजिटल हिंसामा पीडित भएका उल्लेख गर्दै साइबर ब्युरोलाई उजुरी प्रणाली सहज र प्रभावकारी बनाउन निर्देशनसमेत दिइन्।

समितिका सभापति आकृति अवस्थीले पछिल्लो समय डिजिटल हिंसा बढ्दो अवस्थामा रहेकाले साइबर सुरक्षाको दृष्टिलाई ध्यानमा राख्दै एकीकृत डिजिटल हिंसासम्बन्धी कानुन निर्माण गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालको अवस्थाबारे गरिएको छलफल पश्चात् सभापति अवस्थीले भने, ‘डिजिटल हिंसाको अवस्था भयावह हुँदै गएको छ। यस्तो अवस्थामा एउटा एकीकृत कानुन आवश्यक छ।’ उनले कानुन मन्त्रालय, महिला मन्त्रालयलगायत सम्बन्धी मन्त्रालयहरूलाई उक्त सुझाव दिए।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउनुका साथै डिजिटल साक्षरतासमेत बढाउनुपर्ने धारणा राखेका थिए। बैठकमा साइबर ब्युरोको प्रतिवेदनसमेत पेस गरिएको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले साइबर सुरक्षाको अवस्था जटिल बन्दै गएको बताए। उनले साइबर अपराधको उजुरीलाई तत्काल सम्बोधन गर्न पर्याप्त स्रोतसाधन, जनशक्तिको व्यवस्था र ब्युरो चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘साइबर क्राइम न्यूनीकरण गर्न समयसापेक्षको कानुन निर्माण, प्रहरी संयन्त्र बलियो बनाउनुका साथै नागरिकस्तरको जनचेतना वृद्धि गर्नुपर्छ।’ रासस