गण्डकी । वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ ।
मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
तटीय क्षेत्रमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ । कालीगण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उनले भने ।
पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै खुलाउन नसकिएको उनले बताए । रघुगंगा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो पहिरो जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया