वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने कन्चनपुर भीमदत्त नगरपालिका-११ घर भएका ४४ वर्षीय नवराज भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नवराजले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।