अब मन्त्रालयहरूले नै बजेट सिधै रकमान्तर गर्न पाउने


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन सुरु गरेको बताएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्तिलाई तोड्दै ८० देखि १०० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताएका हुन् ।

खर्चको गति बढाउन यसपटक तीनवटा मुख्य सुधार गरिएको अर्थमन्त्रीले जानकारी दिए।

१‍. सम्बन्धित मन्त्रालयहरूले नै सिधै रकमान्तर गर्न पाउने व्यवस्था गरिएको छ, जसले गर्दा अर्थ मन्त्रालयको अनुमति पर्खनुपर्ने झन्झट हटेको छ।

२. संसद्बाट पारित नयाँ खरिद ऐनमार्फत निर्माण व्यवसायलाई द्रुत गतिमा अघि बढाउन सहजीकरण गरिएको छ।

३. मध्यमकालीन खर्च खाका (एमटीइएफ) मार्फत तीन वर्षको स्रोत सुनिश्चितता गरी ठूला ठेक्काहरू एकैपटक लगाउन सक्ने सुविधा दिइएको उनले बताए।