काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काले आज निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेकी छन्।
अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि उनको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण प्रक्रिया रोकिएको थियो। सोही कारण महाधिवेशनबाट निर्वाचित भए पनि खड्काले अन्य केन्द्रीय सदस्यसँगै प्रमाणपत्र लिन पाएकी थिइनन्।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
महाधिवेशनपछि असोज २९ गते पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने क्रममा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै खड्कासहित सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवको प्रक्रिया रोकिएको थियो। उनीहरूले त्यसबेला शपथ लिन पाएका थिएनन्।
यसअघि निर्वाचन समितिले खड्कालाई निर्वाचित भएको औपचारिक प्रमाणपत्रसमेत दिएको थिएन। आज भने उनले उक्त प्रमाणपत्र ग्रहण गरेकी हुन्।




प्रतिक्रिया