लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ


काठमाडौँ । प्रहरीले लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ, नवलपरासी पूर्व, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको महानगरपालिका-१६ बाइपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागुऔषध डाइजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र रु दुई लाख २६ हजार ८५० सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासीपूर्वको देवचुली नगरपालिका-२ सिजी अगाडि अङ्कित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागुऔषध डाइजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुलसहित दुई, सिन्धुलीको दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३४० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट पाँच, दुहबी नगरपालिका-५ फुटबल चोकबाट एक र इटहरी उपमहानगरपालिका-५ जन्ताबस्तीबाट एक जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ४९० मिलिग्रामसहित इलाम सुर्योदय नगरपालिका-४ का २६ वर्षीय सलमान थापालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४५ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु एक थानसहित ४० वर्षीय चन्देश्वर महतोलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागुऔषधसहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रीतिक प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ८४० मिलिग्रामसहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साही, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९४० मिलिग्रामसहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय विकास भुजेलसहित दुई, तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेबाट दुई, बझाङको जयपृथ्वी नगरपालिका-११ धामीलेखबाट एक, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट एक र चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।