अन्तर्राष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम सुरु


काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवस, २०२६ का अवसरमा आजदेखि नेपालमा पनि सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय युवा परिषद्ले दिवसलाई साताव्यापी रुपमा मनाउन सबै प्रदेश र स्थानीय तह तथा सरोकार भएका संस्थालाई पत्राचार र आग्रह गरेको छ ।

परिषद्का निमित्त प्रशासकीय प्रमुख गेहनाथ गौतमका अनुसार दिवसका अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । यस अवधिमा युवा उद्यमशीलता, रोजगारी, नेतृत्व विकास, स्वयंसेवा, नीति संवाद, सचेतनामूलक अभियान तथा युवासम्बन्धी विविध कार्यक्रम आयोजना गरिनेछन् ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवाकेन्द्रित बहसलाई प्रवर्द्धन, नीतिनिर्माण तथा कार्यान्वयनमा युवाको सहभागिता, युवा–मैत्री सुशासन प्रवर्द्धन तथा सरकारी र गैरसरकारी निकायबीच सहकार्य र साझेदारी विस्ताका लागि दिवस मनाउन लागिएको हो ।

यस वर्षको दिवसको नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । उक्त नारामार्फत विविध सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेशका युवाबीच साझा लक्ष्य र आकाङ्क्षालाई प्रवर्द्धन गर्ने सन्देश दिइएको छ ।

दिवसका अवसरमा जारी गरिएको घोषणापत्रमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउँदै युवा सशक्तीकरणका ५८बुँदे हस्तक्षेपको आवश्यकता औँल्याइएको छ ।

सप्ताहव्यापी कार्यक्रमको समापनका अवसरमा यही साउन २७ गते काठमाडौँमा हुने मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफल, युवा प्रतिभा सम्मान, सांस्कृतिक प्रस्तुति तथा विभिन्न युवा जागरण कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको परिषद्ले जनाएको छ ।

परिषद्को स्थापना भएपछि युवामैत्री नीति तथा कार्यक्रम निर्माण, कार्यान्वयन, बहस, पैरवी, समन्वय र सहजीकरणमा नेतृत्व हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९८ देखि प्रत्येक वर्ष अगस्ट १२ लाई यो युवा दिवसका रूपमा मनाउँदै आएको छ । रासस