लामो रेन्ज र स्मार्ट प्रविधिसहित याडियाका तीन नयाँ  ई-स्कुटर बजारमा


काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर यी मोडल बजारमा ल्याएको जनाएको छ।




कम्पनीका अनुसार नयाँ स्कुटरहरूले स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ। विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारी निर्माता याडियाले नवीन प्रविधि, उच्च प्रदर्शन र दिगो यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।


दैनिक सहरी यात्राका लागि डिजाइन गरिएको GS70 मा २.१ kWh LFP ब्याट्री र २.८ kW पिक मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा करिब १०५ किलोमिटरसम्म यात्रा गर्न सकिनेछ ।

लामो दूरी यात्रा गर्ने प्रयोगकर्तालाई लक्षित GT70 मा ५.७ kWh क्षमताको डुअल LFP ब्याट्री प्रणाली जडान गरिएको छ । यसमा ३.६ kWh फिक्स्ड र २.१ kWh रिमुभेबल ब्याट्री रहेका छन् । ३.७ kW पीक मोटर रहेको यो स्कुटरमा एकपटकको चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ । रिमुभेबल ब्याट्री भएकाले घर वा कार्यालयमै सजिलै चार्ज गर्न सकिने सुविधा रहेको छ ।

त्यस्तै, प्रिमियम सेग्मेन्टको GT80 मा ३.६ kWh लिथियम ब्याट्री र ५ kW पीक मोटर जडान गरिएको छ । यो स्कुटरको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने एकपटकको चार्जमा १५० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

तीन वटै मोडेलमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, पाँचजनासम्म प्रयोग गर्न मिल्ने फ्यामिली सेयरिङ सुविधा तथा स्मार्ट कीलेस प्रणाली उपलब्ध छन् ।

सुरक्षाका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले तीन वटै मोडेलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ ।

यी स्कुटर नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरमार्फत बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । साथै, NAIMA Auto Show भर GS70, GT70 र GT80 खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ छुट दिइने कम्पनीले जानकारी दिएको छ ।