काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव विहीबार नेपाल ल्याइएको थियो ।

अन्त्येष्टि अघि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर,नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए । गृहमन्त्री गुरुङले गुरुङको पार्थिव शरीरमाथि राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे । त्यस्तै कांग्रेसका स्थानीय नेतासमेत रहेका युक्तको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरे ।
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।




प्रतिक्रिया