सरकारले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको छ :परराष्ट्रमन्त्री


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनले दक्षिण एसियामा बढाएको क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धि प्रवर्द्धनमा नेपालले सेतुको भूमिका निर्वाह गर्न चाहेको बताएका छन् ।

ललितपूरमा आयोजना गरेको ‘‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै उनले सरकारले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताए।

नेपालले चीन र दक्षिण एसियाबिच आर्थिक तथा क्षेत्रीय सहकार्य विस्तार गर्न आफ्नो भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउँदै दिगो विकास र साझा समृद्धिका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए ।

उनले चीन र भारतको निरन्तर आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकहरूलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा कनेक्टिभिटी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको बताए ।

नेपालले चीन र दक्षिण एसियाली मुलुकबिच व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा पुलको भूमिका खेल्न सक्ने उनको भनाइ थियो।