काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसबारे सर्वोच्च अदालतबाट बिहिबार आएको आदेशबारे केन्द्रीय समिति बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासङ्घको सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै सभापति थापाले सर्वोच्चको आदेशबाट उब्जिएका प्रश्नबारे साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर धारणा तय गर्ने बताएका हुन् ।
‘कांग्रेस पार्टीका सन्दर्भमा हिजो एउटा आदेश भएको छ । यसबाट स्वाभाविक रूपमा केही प्रश्नहरू छन् नै, हुने नै भए । हामी केन्द्रीय समितिको बैठक बसेर धैर्यताका साथ, राम्रोसँग छलफल गरेर हाम्रो आफ्नो मत के हुनुपर्छ ? धारणा के हुनुपर्छ ? भन्ने कुरा त्यसकै आधारमा बनाउँछौँ ,’उनले भने ।
सभापति थापाले कांग्रेस पार्टीको विधानमा भएको व्यवस्थाको पार्टीका सार्वभौम सदस्यहरूले प्रयोग गरेर विशेष महाधिवेशन गरेको भन्दै विशेष महाधिवेशन आवश्यक रहेको बताए ।
थापाले भने , ‘विशेष महाधिवेशनको वैधानिकता विशेष महाधिवेशनको हलबाट हामीले पुष्टि गरिसक्यौँ । विशेष महाधिवेशनको वैधानिकता निर्वाचन आयोगले पुष्टि गरिसक्यो । विशेष महाधिवेशनको वैधानिकता सम्मानित अदालतको सर्वोच्चको डिभिजन बेन्च (संयुक्त इजलास) ले पुष्टि गरिसक्यो ।’
थापाले फेरि यसको पुष्ट्याइँ गर्नुपर्छ भनेर अदालतले बोलेको सन्दर्भमा विशेष महाधिवेशन वैधानिक थियो, ठिक थियो भनेर पुष्टि गर्नका निम्ति आफूहरूलाई फेरि एक पटक अर्को अवसर प्राप्त भएको बताए ।
‘अदालतको प्रक्रियामा सहभागी हुनु हाम्रो कर्तव्य हो । हामी सहभागी हुन्छौँ र सानका साथ वैधानिक कामको प्रतिरक्षा गर्छौं’, सभापति थापाले भने ।




प्रतिक्रिया